ज्ञान, विवेक तथा सृजनशिलताको महत्व र आवश्यक्ता
टोप अस्लामी
aslami1st@gmail.com
ज्ञान, बौद्धिकता, विवेक र चेतना/सृजनशिलता यी शब्दहरु एक आपसमा अन्तरसम्बन्धित छन् तर पनि यी शब्दहरुको आ–आफ्नै अर्थ र महत्व छ । उल्लेखित शब्दहरुको मर्म समष्टीमा जो कसैसंग निहित छ भनेपछि त्यसका कारण अति उत्तम व्यक्तित्व बन्न सम्भव छ । त्यसैगरी समाज र देशको हकमा पनि यो कुरा लागु हुन्छ । ज्ञान आर्जन (प्राप्त) गरिन्छ, बौद्धिकता र चेतना/सृजनशिलता निर्माण हुनुको अलावा एक खालको अन्तरनिहित खुबी हो । जो मानिस केही प्राप्तिका कारणबाट अहम् महशुस गर्छ वा त्यस्तो अहम्ता प्रष्फुटन गर्दछ भने त्यस्तो प्राप्ति दोषी प्राप्ति हो । यस्तो बेला उसले प्राप्त गरेको कुराले स्वयम्लाई मथ्न सकेको छैन भन्ने सजिलै बुझ्नु पर्दछ । अर्थात प्राप्त चीजको शालिनता र सौन्दर्य के हो भन्नेमा सही ज्ञान हासिल गर्न नसकेको "अल्प अवस्था" भनेर बुझ्दा फरक पर्दैन । यो अवस्था आफैमा अदेखा सङ्क्रमण हो, अब्बल समाज बन्नका लागि यसलाई (समाजले, समाजका सदस्यहरुले) पार गरिनु अपरिहार्य छ ।
वास्तवमा जुन समाजले ज्ञान, बौद्धिकता, सृजनशिल सीप जस्ता विषयहरु आफूमा निहित हुनै पर्दछ भन्ने यथार्थ सन्दर्भलाई गम्भीरताका साथ आत्मसाथ गर्न सक्दैन, त्यो समाज अन्ततः लिने अवस्थाबाट नै गुज्रन्छ । किनभने जुन समाजले ज्ञान, बौद्धिकता अझै सृजनात्मकतालाई त्यही रुपमा या व्यक्ति, समाज साथै देशको उज्यालोका लागि अपरिहार्य आड भरोसा र साधनको रुपमा सहजै ग्रहण गर्न सक्दैन त्यो समाजले आर्थिक तथा भौतिक रुपमा जति नै सम्वृद्धि हासिल गरेता पनि त्यस्ता सम्वृद्धिको स्थायित्व कति हुन्छ ? दीर्घकालिन हुन सक्छ सक्दैन ? भन्नेमा अड्कल समेत काट्न सकिदैन । र, अड्कल नै गरिएता पनि त्यो अड्कलको रोमाञ्चकता कति गहिरो वा फितलो हुन्छ, त्यो बारेमा रोमाञ्चकता कल्पना गर्नु अर्को मुर्खता नै हो । अर्थात ज्ञान विना, बौद्धिक र सृजनात्मक परिकल्पना विना कसैका लागि पनि समयानुकूल उपायहरु प्रस्फुटन हुन असम्भव छ ।
वर्तमान परिप्रेक्ष्यमा धन सम्पत्तिको रवाफमा ज्ञान, विवेकहरु बन्दकी बन्न असम्भव छैन, धन सम्पत्तिको चुरीफुरी सेरोफेरो सबै सन्दर्भहरु फितलो र तरल लाग्न सक्छ । तर कतिपय विवेकी अक्कलकै आड भरोसामा धनदौलत रुपी सम्पत्तिको सार्थकता पुष्टी हुने हो । वास्तवमा धनको आडमा प्राप्त बौद्धिकता केवल व्यवसायिक हुन् । त्यस्तो आड भरोसाले आत्मरति प्राप्त त हुन्छ तर मानिसहरुले मानवीय अस्तित्वको रक्षाको अनुभूति प्राप्त गरीरहेका छन् या छैनन्, परिस्थिति कसरी अगाडि बढीरहेको छ भन्ने बारेमा दीर्घकालिन रुपमा ठम्याउन असम्भव जस्तै हुन्छ । यो परिस्थितिको उपस्थिति भनेको विवेकको अभाव खट्किएको हो भनेर बुझ्नु पर्दछ ।
ज्ञान, विवेक/सृजनशिलता जस्ता अदृश्य खुबीहरु जो कोहीमा त्यति सजिलै प्राप्त हुने विषय होईनन् । यद्यपि केही चासो वा बाध्यात्मक परिस्थितिका कारण केही मानिसले ज्ञान प्राप्त गर्न सक्छन् तर प्राप्त भएको त्यही ज्ञानको स्तरमा सबैमा विवेक, चेतना/सृजनशिलता निर्माण हुन्छ वा भएको छ भन्ने बुझाई आफैमा धोखा हो । हो, कसैले प्राप्त गरेको ज्ञानको आधार विवेक कायम गर्न सहायक हो तर त्यसरी कायम हुने विवेक समाजका लागि कति व्यवहारिक छ ?, व्यक्ति आफैको कल्याणका लागि कति गुणकारी छ त ? भन्ने कुराले त्यस्तो विवेकको मापन गर्दछ । यसरी हेर्दा विवेकी हो/हुँ भन्नेको विवेक केवल ढोंगी लाग्न थाल्यो भने त्यसले समाजमा अन्यौलता मात्र होईन अराजकताको बीऊ रोप्ने र फैलाउन पनि सहयोगी नै हुन्छ । यो खालको परिस्थिति भनेको “सबै मै जान्ने, मै सुन्ने” भन्ने दवदबा बन्दै जाने परिस्थिति हो । यस्तो परिस्थिति स्वभावैले अराजक परिस्थिति हो । यस्तो बेला दीर्घकालिन लक्ष्यमा आधारित योजनाहरु कसैगरी अगाडि बढ्न सम्भव छैन । योजना बन्लान्, त्यस्ता योजना बन्दा खुशी पनि प्रकट होला, तर समय बित्दै जाँदा योजनाका लागि आवश्यक कदमहरु सर्नु त कता हो कता, शिथिल भईसकेको पाईन्छ । यसरी समय बितिरहदा मानिसमा नैराश्यता उत्पन्न हुनु एउटा पक्ष हो तर अन्यौलताहरु थपिनु र थप गञ्जागोलको परिस्थिति निर्माण हुनु झनै गम्भीर पक्ष हो । यस्तो गम्भीरतालाई सम्हाल्न कि त केही न केही "जादूको छडी" चाहियो या त सम्भाव्य परिस्थितिको प्रतिक्षा आवश्यक हुन्छ । अर्थात "सही सत्य सवाल एक दिन बीजयी भएर आउँछ नै" भन्ने मान्यतालाई आत्मसाथ गर्ने हो भने जुग बित्न पनि सक्छ । यस्तो जुग बित्ने प्रसव वेदना खपेर गुज्रन पनि अन्तत्वगत्वा विवेकपूर्ण चिन्तन भएको दरिलो व्यक्तित्वहरु र त्यस्तै भावनाका समाजको अपरिहार्यता पहिलो शर्त हो ।
विवेकले चेतना पैदा गर्दछ, चेतनाले सकृयता जाहेर गर्दछ, सकृयताले सम्बन्धहरु गाँस्दै जान्छ, सम्बन्धले संगठनको निर्माण हुन सहज हुन्छ, संगठनको बलले उद्देश्य परिपूर्तिका लागि मार्ग पहिल्याउँछ, निक्र्योल गरिएको मार्गमा सामूहिक प्रतिबद्धता सहितको दरिलो चलायमानताले सम्भावनाहरु सार्थक बन्दै जान सम्भव छ । त्यही सार्थकता असली विश्वासको जग हो, अगाडि बढ्ने हौसलापूर्ण मार्गदर्शन हो । समाज त्यसमा अनुशासित रुपमा लामबद्ध भएर रहन तब सम्भव हुन्छ जहाँ निहित स्वार्थका नगण्य गन्धहरुको कल्पना गर्न पनि समयको बर्बादी बाहेक केही ठानिने छैन । यसको मतलब यतिबेला अन्यौलता शून्य छ, अन्यौल रहीरहने छुट अब कसैलाई पनि छैन । यस्तो अवस्थामा पनि अन्यौलताको खासखुस गरिन्छ भने अविवेकी, भ्रष्ट र भाँड तत्व कतै लुकेको छ र त्यो पुनः टुसाउन खोज्दैछ कि ? या कतै कमीकमजोरी पो जुर्मुराउदै छन् कि भन्ने तर्फ बेलैमा ध्यान जान जरुरी छ ।
शूण्य अन्यौलताको अर्थ सकारात्मक वातावरण हो । अब सही जागरुकता मौलाउन असजिलो हुने छैन भन्न सजिलैसंग सकिने परिस्थिति हो । तब सृजनशिलताले फुल्ने फल्ने अवसरहरु प्राप्त गर्ने वातावरण बन्न सम्भव छ । आशाका भविष्य सोंच्दा पनि आनन्ददायी र भरोसायोग्य सावित हुनेछन् । विस्तारै प्राप्त हुने असल परिणामले समाजलाई स्वस्थ बनाउने कुरा एउटा सन्दर्भ हुनेछ भने त्यही निर्धक्क स्वस्थताको कारण अनुभूत हुने सुखशान्ति मानिसका लागि स्वर्गीय आनन्द हुनेछ ।
यो भौतिक दुनियाँमा केही न केही आधारभूत आवश्यक्ता परिपूर्तिका लागि अभाव नहुने अवस्थाको निर्माण वा निश्चित सम्भावना त्यहाँ अग्रिम बनीसक्नु आफैमा खुकुलो अवस्था हो । अब त्यहाँ कलहको कल्पना पशुपनको पराकाष्ठा मानिन थाल्छ । अर्थात सबैको सुख विरुद्धका कुनै पनि हर्कत स्वतः दब्न बाध्य हुनेछन् । यो परिस्थितिको निर्माण हामी सबैको आकाँक्षा र आवश्यक्ता होईन र ?
यदि यस्तै आकाँक्षा र आवश्यक्ताको महशुसीकरण समाजलाई भएको हो भने ज्ञान मार्गको कुरालाई हामीले लत्याउनु सान्दर्भिक हुन्छ त ? विवेक र चेतना निर्माणको अवस्था बनाउन हच्किने होईछ त ? यदि ज्ञान सहितको चेतना तार्किक र व्यवहारिक रुपमा उजागर भईरहेका छन् भने त्यसलाई आत्मसाथ गरी थप सुदृढ गर्दै अगाडि बढ्नु जो कोहीको कर्तव्य होईन र ?
हुन त मानव स्वभावले झल्को दिईरहन्छ कि आफू भन्दा अरु अब्बल नहोउन् । तर यही स्वभावलाई जित्न सकेर कमजोरी आत्मसाथ गर्दा नै मानिसले पशुभन्दा उच्च कहलिने हो, समाजमा पनि आदर्श व्यक्तित्व बन्ने हो, त्यस्तै समाज पनि हो । केही चीजको वेशी प्राप्ति हुँदा दम्भ प्रकट हुनु, आफूसंग निहित बाहेकका चीजलाई चीज मान्न असामञ्जस्य ठान्नु जस्ता स्वभाव आफैमा अल्पकालिन/दम्भी हुन् । वर्तमान परिवेशमा उल्लेखित सन्दर्भ उपल्लो दर्जाको ठानिएता पनि त्यस्ता दम्भी चालढाल गलेर नतमस्तक हुनुको विकल्प नहुने हुँदा मानिसले बेलैमा सोंच्न सक्नु बुद्धिमतापूर्ण (मानिस हुनुको अर्थ) हुन्छ । किनभने त्यस्ता स्वभाव स्वयम् व्यक्तिका लागि समेत फलदायी त छैन नै प्रत्येक्ष/परोक्ष नतमस्तक हुनु पर्ने दम्भको छिटाले निश्चित पुस्तामा समेत राम्रो गर्दैन । फलस्वरुप पुर्खाका विरासत धुलीसात हुनेछन्, भविष्य कचिङ्गलपूर्ण हुनेछ, थोरै भए पनि अगाडि पुगीसक्ने समाजले अलमल व्यहोर्नु पर्दा दोषको भागीदार त्यही दम्भीहरु हुनु पर्नेछ । यो कुरालाई ख्याल नगर्ने वर्तमानका हामी जो कोहीले बाउबाजेको कमजोरी बारे समय खर्चनु महाव्यर्थ छ ।
वास्तवमा अनपेक्षित र अस्वाभाविक लालच विवेकपूर्ण गतिमा लय मिलाएर आएकै हुँदैन । अस्वाभाविक लालच वा अनपेक्षित आकाँक्षाका श्रोत भनेको कि त दम्भ नै हो कि त उक्साहट हो । यो दुवै सवालमा गम्भीर तर्क र व्यवहारिक पक्ष गौण ठानिन्छ । हावी हुन्छ त केवल दम्भ, मौका परस्त उक्साहट । बन्दै जाने यस्ता परिवेशले ज्ञान, विवेक एवं सृजना शिथिल भएकोमा आनन्द मान्छ । यद्यपि त्यस्ता परिवेश र प्रवृत्तिले मौकामा ज्ञान र विवेकको काँधमा बसेर शयर गर्न पाउँदा दुनियाँमा कसैले प्राप्त नगरेको पगरी भिर्न पाएर सुसज्जित भए सरहको प्रफुल्लता प्रकट गर्न समेत चुक्दैनन् । ज्ञान, विवेक र चेतनाले त्यस्तो परिवेश र प्रवृत्तिको खिलीमास पार्ने लय समात्ने भएकोले समाजको मूल धार ज्ञान, विवेक र चेतना/सृजनशिलता नै हो । समाजको विकास मूल धारमा अडिदै अगाडि बढ्न सक्दा नै प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीको प्राप्ति तर्फ सोझिन्छ ।
मूलधार हुन समाजमा बहुसंख्या तत्काल बन्नु "सुनमा सुगन्ध" भए पनि प्रारम्भमा थोरै (कम्तीमा एक) बाट नै मूलधारको अगुवाई हुने हो । समयसापेक्ष विवेकशिल र सृजनशिल हुँदै जानु र अधिकतमको कल्याण हुने विषय नै अन्तत्वगत्वा मूलधार हो । यस विषयलाई पर्गेल्ने शक्ति उही ज्ञान, विवेक र चेतना साथै सृजनशिलताबाट मात्र सम्भव छ । मूलधारको विषय पर्गेल्न नसक्नुले दासत्व स्वीकार्न बाध्य बनाउँछ भने मूलधार निर्माणमा लापरवाही गर्नुले निहित स्वार्थको परिपूर्तिको आकाँक्षा प्रकट गर्दछ जो केवल "अवसरवाद" हो, दम्भ हो, वा कसैको उक्साहट हो । यस्ता प्रवृत्तिमा रमाउनेहरु असल समाज बन्ने बनाउने परिस्थितिको प्रतिकूल पिसाच नै हुन् जसले भौतिक उपलब्धीका कारण ज्ञान, विवेक र चेतना/सृजनशिलताका पक्षधरलाई जहिले अपूरो र पूर्वाग्रही नजरले मात्र हेर्न जान्दछ । त्यति मात्र होईन, त्यही पूर्वाग्रहको आडमा ज्ञान, विवेक र चेतनालाई बन्दकी बनाउन, निस्तेज पार्न सबै खाले प्रबन्ध समेत गरेको हुन्छ । कतिपय अवस्थामा समाजले यस्ता परिस्थितिलाई भेउ समेत पाएको हुँदैन या त स्वयम् समाज नै बन्दकी बनेको अवस्था बन्दछ ।
यतिबेला मूलधारले अल्पसंख्यामा खुम्चिनु परेता पनि शिर उठाउन हच्किनु हुँदैन । विश्वमा यस्ता परिघट्नाहरु कतिपय अवस्थामा तत्कालै र कतिपय अवस्थामा ढिलो गरी प्राप्त हुन्छन् । समाजले समात्ने लय अनुसार नयाँ परिस्थिति बन्दै जाने भएकोले समाजको सजगता र सकृयताको निरन्तरता जहिले उल्लेखनीय रहन्छ । समाजको निरन्तर सजगता र सकृयताको असली जग त्यही ज्ञान, त्यही विवेक र सृजनशिलताको मर्म आत्मसाथ गरेको अवस्था हो भन्नेमा हामीले बेलैमा बहस गर्नु मूलुक र मूलुकवासीका लागि हितकर हुनेछ । (समाप्त)
(यो गन्थन, विचार (दर्शन) बुटवल, रुपन्देहीमा जनवरी १, २०१९ मा सृजित एवं तयार भएको थियो । समयसान्दर्भिक नै लाग्यो, र यसलाई मेरो आफ्नो ब्लगमा राखेको छु । यहाँहरुको सकारात्मक प्रतिकृयाको जहिले पनि अपेक्षा गर्दछु - Top Aslami)
No comments:
Post a Comment