Sunday, December 27, 2020

(दृष्टिकोण) वर्तमान राजनीतिक अकर्मन्यता पछिको अलमल

 वर्तमान राजनीतिक अकर्मन्यता पछिको अलमल

टोप अस्लामी

"राजनीतिको चलखेल यथास्थितिमै रहयो भने घोषित समय आगामी बैशाख १७ र २७ मा चुनाव हुन सम्भव छैन । यदि बलपूर्वक त्यसलाई सम्भव बनाउन खोजियो भने त्यसले मूलूकमा ठुलो राजनीतिक भिड़न्त  निम्त्याउनेछ । कारणवश सर्वोच्चले राष्ट्रपतिको कदमलाई सही ठहर गरेछ भनेपनि मध्यावधी निर्वाचनको मिति राष्ट्रिय सहमतिको आधारमा तय हुनुपर्छ र हालको ओली सरकार विस्थापित गरी सर्वदलीय चुनावी सरकार गठन गरिनुपर्छ "

       कोरोना भाईरसको सन्त्रासका कारण संसदले बिजनेश नपाएको अवस्थामा रहन बाध्य हुँदा नीति नियम निर्माणका लागि रस्साकस्सी गर्नु पर्ने साँसदहरु तलब भत्ता बुझने बाहेक पुरै वेकामी सावित भएका थिए । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले पुष ५ गतेका दिन बिहान सबेरै हठात संसद विघटनको सिफारिस गरे । त्यसलाई राष्ट्रपति विद्या भण्डारीबाट तत्काल सदर गर्ने काम भयो । यस बीचमा विभिन्न प्रतिकृयाहरु व्यक्त गरिएका छन् । विभिन्न राजनीतिक दलहरु जो संघीय संसदमा प्रतिनिधित्व गर्छन् साथै नागरिक समाज जो नागरिकका आवाज बोल्ने जिम्मेवारी लिएका छन् सबैले प्रधानमन्त्रीले गरेको त्यो हठात संसद विघटन प्रस्ताव र राष्ट्रपतिको तत्कालको कदम बारेमा बोल्ने क्रम बढ्दो छ । यस बीचमा प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदमलाई गैरसंवैधानिक र असंवैधानिक भन्दै सर्वोच्चमा हालिएको मुद्दा बहस पैरवीमा छन् । अर्थात एक दर्जन बढी संख्यामा दायर गरिएका ती मुद्दाहरु बारेमा सर्वोच्चको फैसला के आउने हो भन्नेमा पनि यतिखेर आम चासोको विषय बनेको छ । प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई लिएर सर्वोच्चमा बहस पैरवीका लागि संवैधानिक इजलाश खडा भईसकेको सन्दर्भमा त्यसको फैसला कस्तो आउनु पर्ने भन्ने बारेमा पनि बुद्धिजीविहरुमाझ व्यापक छलफल चलीरहेको छ । यद्यपि सुविधाजनक बहुमत प्राप्त दल र त्यसका नेताहरुले मूलुकलाई गलत मार्गमा हिंडाउन तल्लीन भईरहेको बेलामा पनि देशलाई वर्बादी हुनबाट बचाउन सार्थक प्रयास शायदै भए । हामी एकाधले त्यसका लागि भरमग्दुर प्रयास गरयौ तर जनता तहमा त्यसको बारेमा खुलेर बहस हुन अझै सकीरहेको छैन ।

वास्तवमा संसद विघटनको कदम संवैधानिक कि असंवैधानिक भन्ने बहस व्यापक रुपमा उठेको छ । त्यसको लर्कन सर्वोच्च सम्म पनि पुगेको छ । तर हाम्रो बहस त्यस तर्फ केन्द्रित हुनु जरुरी छैन । हाम्रो बहस भनेको, प्रत्येक्षतः प्रधानमन्त्री र राष्ट्रपतिको मिलीभगतमा घटाईएको घटनाले देशलाई राम्रो गर्छ कि गर्दैन भन्ने तर्फ केन्द्रित हुनु पर्दछ । अर्थात संसद विघटन र मध्यावधी निर्वाचनको घोषणा ठीक हो कि होईन र यसले देशलाई फाईदा कि घाटा भन्ने तर्फ केन्द्रित हुनुपर्छ । निश्चय पनि, यो कदम पूर्णतः बेठीक हो र देशमा राजनीतिक अस्थिरता ल्याउने उद्देश्यबाट प्रेरित घटनाक्रम भएको हुँदा यसले देशलाई घाटानै पुरयाउनेछ । अहिलेको घटनाक्रमलाई संवैधानिक कोणबाट होईन राजनीतिक कोणबाट हेर्ने र त्यसको व्याख्या विश्लेषण गर्ने तर्फ हाम्रो ध्यान केन्द्रित हुनु जÞरूरी छ । 

यसो किन भनिएको भने यदि सर्वोच्चले राष्ट्रपतिको कदम संवैधानिक भएको ठहर गरेछ भने चाहि के होला त ? भन्ने कुरा अर्को गम्भीर पक्ष छ ।  देशमा राजनीतिको सही व्यवस्थापन चाहनेहरुले त्यस्ता कैयन जिज्ञासाहरु आफू र जनमानसमा छलफलमा लैजान जरुरी छ । राजनीतिको चलखेल यथास्थितिमै रहयो भने घोषित समय आगामी बैशाख १७ र २७ मा चुनाव हुन सम्भव छैन । यदि बलपूर्वक त्यसलाई सम्भव बनाउन खोजियो भने त्यसले मूलूकमा ठुलो राजनीतिक भिड़न्त  निम्त्याउनेछ । कारणवश सर्वोच्चले राष्ट्रपतिको कदमलाई सही ठहर गरेछ भनेपनि मध्यावधी निर्वाचनको मिति राष्ट्रिय सहमतिको आधारमा तय हुनुपर्छ र हालको ओली सरकार विस्थापित गरी सर्वदलीय चुनावी सरकार गठन गरिनुपर्छ भन्ने राजनीतिक प्रस्तावलाई अगाडि बढ़ाउनु उचित हुने बारे हाम्रो प्रस्ट दृष्टिकोण बन्नु पर्दछ ।

विगत ७० वर्ष यताको राजनीतिक लडाई, त्यसमा जनताले गरेको बलीदान र त्याग स्मरण गर्ने हो भने जनताको विश्वास लिएर जिम्मेवारी लिएकाहरुबाट कहिल्यै पनि इमान्दार ढङ्गले काम गर्ने प्रयास भएन । देश कमाण्डको जिम्मेवारी लिनेले भाग बण्डाको भारी सत्तासिन र वरीपरी नै केन्द्रित गर्ने काम भयो । यो कुरा त सामान्य नेपालीहरु सबैलाई थाहा छ । यसले गर्दा आम नेपाली जनताको मनोविज्ञान विस्तारै आत्मकेन्द्रित हुने अवस्थामा पुगेर गुज्रने भएको छ । समाजमा व्याप्त यस्ता दुश्चक्रीय सोंच र नयाँ परिवर्तनका लागि हातेमालो नगर्ने अभीष्टले हामी नेपालीलाई कहीं पनि पुरयाउँदैन । अर्थात थप निराशाको भारी बढ्नुका साथै समाजले स्वतः उत्प्रेरित भएर काम गर्ने अवस्था कमजोर हुँदै जान्छ । यसैको परिणाम हो नयाँ पुस्ताले आफ्नो देशमा अवसर देख्न नसक्ने अवस्थाको आकलन गर्नु । नयाँ मात्र के पुरानै पुस्ताले पनि आफ्ना नयाँ पुस्ताको भविष्य आफ्नो भूमिमा नै छ भनेर विश्वास गर्ने अवस्थामा प्रतिकूलता महशुस गर्ने परिस्थिति छ भन्ने कुरा समाजमा व्याप्त व्यवहारिक पक्षले पनि उजागर गरीरहेको छ ।

यहाँनिर नेपाली जनताले बुझनै पर्ने कुरा के छ भने राजनीतिक रुपमा पटक पटक बेईमानी कायम गरेकाहरुलाई एउटा माहोलमा गल्र्याम्मै अङ्गालो हाल्दा देशलाई कति घाटा भईरहेको छ त ? विदेशी ऋणको थप भारी बोक्ने शर्तमा हुने गरिने फगत विकास निर्माणलाई आधार बनाई आशाको त्यान्द्रोमा कति सम्म झुण्डीई रहने हो त ? भाषणका ललीपप र समय सापेक्ष हुलमुलबाट टाढिन नचाहने हाम्रा मानसिकताले लिएको निर्णयको प्रतिफलमा सिङ्गो देशलाई नै अपाङ्ग बनाएर राखेको बारे पुनर्विचार गर्नु पर्ने होईन र ?

हो, राजनीतिक रुपमा अकर्मन्य मानसिकताले ओतप्रोत जमातले नेपाललाई सही बाटोमा हिंडाउन सक्दैन भन्ने कुरा पछिल्लो घट्नाले झनै सावित गरेको छ । विगतमा ठूलाठूला राष्ट्रघाती कार्य सम्पन्न गरेर ऐंजेरु परेको हालका प्रधानमन्त्री खड्ग प्रसाद ओली जस्ताको हातमा नेपाललाई सुम्पनु कति जायज थियो त भन्ने कुरा ती दलका नेताहरुले पनि पुनर्विचार गर्नु पर्छ कि पर्दैन ? १० वर्षे शसस्त्र संघर्षलाई घाम बादलको लुकीछिपी जस्तो क्षणभरमै अस्ताउन हाल्ने अल्पकालिन कार्यनीतिका माहिर पुष्पकमल दाहाललाई विश्वास गर्नु नेपाली जनताको मुर्खता सिवाय केही होईन भनेर जनताले अब बुझ्ने कि नबुझ्ने ? यस्ता पात्रहरुले आफ्ना निहित स्वार्थ पुरा गर्नका लागि कथित ठूलो दल बनाउने शंखघोष गर्दा हामीले भनेका थियौं यो ‘वाम गठबन्धन होईन बल्की हाम्म गठबन्धन’ हो भनेर । तर पनि आकर्षक गफ र तत्कालिन माहोलमा लुटपुटिन पाउँदा रमाउने नेपाली मनोविज्ञान जुन छ यसको निष्कर्षमा वर्तमान परिस्थितिको निर्माण भएको हो । देशप्रेमको दुहाई दिएर नथाक्नेहरुले यस बारेमा के जवाफ पेश गर्ने हो ?

समृद्ध नेपाल र सुखी नेपालीको सपना (कार्यनीति?) राजनीतिक अकर्मन्यताबाट स्थापित गर्छु भनेर स्यालहुँइया मच्चाएको इतिहासलाई नेपालीले अब चिन्नु पर्दछ । अहिले सत्ता र श्रोतको दम्भमा देशलाई नराम्ररी परचक्रीको खेल मैदान बनाउने अर्को खराब प्रयास भएको यदि ठहर गर्न सकिएन र केवल जागिरे मानसिकताबाट मात्र उत्प्रेरित हुने अवस्थालाई मलजल गर्ने हो भने देश निर्माण नारा फगत आदर्शका पाखण्ड हो भनेर बुझ्दा हुन्छ । 

पुष ५ गतेको संसद विघटन प्रकरण प्रधानमन्त्री ओलीको आवेगात्मक कदम भन्दा पनि नियोजित घटनाक्रम हो भन्ने तर्फको संकेत हो । यसले देशको राजनीतिक कमाण्ड अरु कसैको नियन्त्रणमा रहेको समेत संकेत गरेको छ । यसको  व्यापक भण्डाफोर गर्नु आवश्यक छ । देशमा केही न केही जनमत प्राप्त दलहरुले संसदको बिजनेश अङ्गीकार गर्ने र केही न केही राहत महशुस गर्ने भन्दा यस्ता अकर्मन्यताको व्यापक भण्डाफोरका लागि एकीकृत हुनु अहिले मूलुकको आवश्यक्ता हो । यसै सन्दर्भमा अगाडि भनिए जस्तो यदि नयाँ जनमतमा जाने हो भने पनि त्यस्तो जनमतका लागि सर्वदलीय चुनावी सरकारको एजेण्डालाई सार्थक बनाउन हामीले जोड दिनु जरुरी छ । किनभने सत्ताको आडमा निर्वाचन लडेपछि नेपाल जस्तो देशमा फेरि पनि जनताले निर्धक्क भएर आफ्ना सही प्रतिनिधि छान्न निकै नै गाह्रो हुन्छ । देश मूल राजनीति छिन्नभिन्न भएपछि जनताले अब उपाय के नै छ र भन्नु एउटा कुरा हो तर वर्तमान राजनीतिक घट्नाको उत्पीडन महशुस गर्नेहरुले सत्ताधारी जस्तै तरिकाले सोंचेर अगाडि बढ्दा देशले सही प्रतिफल पाउन सक्दैन । अर्थात राष्ट्रिय सहमति नबनेर अगाडि बढ्ने राजनीति र यसले सृजना गर्ने वातावरण नेपाल निर्माण गर्ने स्वच्छ र महान उद्देश्यसंग कहिल्यै मेल खाँदैन ।

देश र जनताको लागि समय र श्रोत लगानी गरीरहेका देशप्रेमी र राष्ट्रभक्तहरुले अब अली उदार हुन सक्नु पर्दछ । मिल्ने र निल्ने नीति आजको आवश्यक्ता होईन भन्ने कुरालाई पनि उत्तिकै आत्मसाथ गर्न सक्ने महानता देखिनु पर्दछ । यसका लागि आफूले उठाएका राजनीतिक कार्यक्रमहरुसंग अरुले उठाएका कार्यक्रमहरुलाई एउटै टेबलमा सौहाद्र्ध वातावरणमा चरणचरणमा छलफल गर्न अल्मलिनु सबैका लागि प्रतिकूल छ । यो कुरा संसदका रस चाख्दै आएका दलहरुले अरु जिम्मेवार भएर आत्मसाथ गर्न सकेको खण्डमा एउटा राजनीतिक अकर्मन्यताले ओतप्रोतको बदलामा अर्को राजनीतिक अकर्मन्यता कहिल्यै स्थापित हुन नसक्ने राजनीतिक वातावरण बन्न सक्दछ । किनभने संसदमा प्रतिनिधित्व नहुँदैमा र निर्वाचनको मैदानमा सफलता प्राप्त नगरेकै आधारमा गरिने व्यवहारले थप कठोर राजनीति तर्फ डोरयाउने पक्का छ । यस्तो राजनीति नयाँ पुस्ताका लागि भरोसाको केन्द्र बन्न सक्दैन । नयाँ पुस्ता जो स्वदेशमा कर्म गरेर आफू सन्तुष्ट हुन चाहन्छन् र देशमा योगदान गर्न चाहन्छन् तिनका चाहना र आवश्यक्तालाई सम्बोधन गर्ने  प्रशस्त गर्ने उपायहरु संसदमा प्रतिनिधित्व नगरेका दलहरुले पनि अथक रुपमा बोक्दै आएका छन्  ।   

(उपमहासचिव, राष्ट्रिय जनमुक्ति पार्टी)

 (२०७७ पुष १२ गते संघीय एक्सप्रेसमा प्रकाशित)


 


जनताको अपेक्षा र आवश्यक्ताहरु धाराशायी हुँदैछन्

     न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...