(महासचिव / केन्द्रीय संगठन विभाग प्रमुख)
कुनै पनि चीज हुनुको अर्थ र महत्व दुवै हुन्छ । विना अर्थको चीज शायद अस्तित्व विहिन हुन्छ । यस अर्थमा चीज हुनुको मतलव चीजको आफ्नै खालको अस्तित्व रहनु पनि हो । जसरी चीजको अर्थ र अस्तित्व हुन्छ त्यसरी नै मानव मष्तिष्कबाट सृजित विचारको पनि अर्थ र अस्तित्व हुन्छ । विचारको अर्थ र अस्तित्व हुनुले त्यस विचारलाई निर्माण गर्ने, विचार सिञ्चित गर्ने र विचारद्वारा कृयाशिल हुने पक्ष पनि महत्वपूर्ण हुन्छ । अर्थात अर्थपूर्र्ण अनि महत्वपूर्ण रहनुको अर्थ विचारमा जीवन्तता र अस्तित्व हुनु हो । विचारको मर्म, अस्तित्व र अर्थ हुनुको मतलव सर्जक र अवलम्बनकर्ताको पनि महत्व रहनु हो । मानव समुदायमा त्यसको आवश्यक्ता खड्किनु हो । यस अर्थमा विचारको सर्जकको अस्तित्व पनि उत्तिकै महत्वपूर्ण छ । विचारसंग प्राधिकार अवश्य अन्योन्याश्रित हुन्छ । तथापि सृजित विचार पनि कहीं न कहीं इतिहाससंग जोडिएको हुन्छ ।
राजनैतिक परिप्रेक्ष्यमा विचार र दर्शन समय समयमा समयको माग अनुसार मानव जगतले प्रतिपादन गर्दै आएको छ र ती विचार र दर्शनलाई मानव जीवनको हितका खातिर प्रयोगमा पनि ल्याईएको हामी पाउंदछौं । नेपालको सन्दर्भमा माक्र्स, लेनिन र माओका विचार अनि काँग्रेस लगायत केही दलले अवलम्बन गर्ने भनिएको पूँजीवादी विचार अनुसार राजनैतिक दलहरु जन्मिए र नेपाली जनजीवनका परिवर्तनका लागि भन्दै सोही विचार अनुसार जनतालाई गोलबन्द गर्ने काम पनि भए । नेपालमा ती विचारहरुको आवरणमा आधा शताब्दी भन्दा पनि धेरै समय दवदबा कायम रहयो । तर अब परिस्थिति फेरिएको छ । जनताका चेतना स्तर उकासिएको छ त्यसैले शायद ती आयातित विचारहरु नेपालमा कमसल सावित हुनुको अलावा अवस्तुवादी पनि भएका छन् ।
आज भन्दा ३१ वर्ष अगाडि राष्ट्रिय जनमुक्ति पार्टीले नेपालको वस्तुस्थिति अनुसारको राज्य व्यवस्था र शासन प्रणालीका लागि एउटा राजनैतिक विचार दियो जुन विचार तत्कालिन शासक र सत्ताधारीहरु साथै परम्परावादका हिमायती राजनैतिक दलहरु, व्यक्ति विशेषलाई समेत साह्रै अपाच्य पनि भयो । विविध विरोध र कठिनाईका बावजुद राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो विचारलाई शान्तिपूर्ण रुपमा जनता सामु निरन्तर पस्किदै आयो, आईरहेको छ । कावासोती नवलपरासीमा सम्पन्न चौथौ राष्ट्रिय महाधिवेशन (२०६७ फागुन २५–३०) मा पार्टीले अवलम्बन गर्दै आएको विचारलाई विचारधारामा परिणत गरी ‘जनमुक्ति विचारधारा’ नामाकरण ग¥यो र ‘जनमुक्ति विचारधारा’लाई पार्टीको मार्गनिर्देशक सिद्धान्तको रुपमा घोषणा समेत ग¥यो । सो महाधिवेशनले यही ‘जनमुक्ति विचारधारा’ मार्फत ‘बहुजातीय लोकतान्त्रिक समाजवाद’ सम्म पुग्ने पार्टीको लक्ष्यलाई पनि निर्दिष्ट ग¥यो ।
यतिबेलाको नेपाली राजनीतिक परिवेशसम्म आईपुग्दा नेपाली भूमिमा ‘जनमुक्ति विचारधारा’ सार्वभौम भएको जनमुक्ति पार्टीको दावी रहेको छ । अर्थात राष्ट्रिय जनमुक्ति पार्टीले उजागर गरेको विचार अबका दिनमा सबै राजनीतिक दलका लागि सापटीको विषय भएको छ जनमुक्ति विचारधाराकै वरीपरी दलहरु, अभियन्ताहरुले पनि आम अभिव्यक्ति दिने परिस्थिति बनेको छ ।
सयौं वर्षदेखि लिने अवस्थामा रहेका नेपालका उत्पीडित जातजातिहरु, समुदाय, वर्ग, क्षेत्र र महिला विशेषलाई दिने ठाउँमा पु¥याउनु पर्दछ भन्ने मर्म ‘जनमुक्ति विचारधारा’को मर्म हो । त्यसका साथै केन्द्रीकृत शासन व्यवस्थाका कारण जनतालाई परीरहेका हरेक कठिनाईबाट मुक्ति दिनका लागि ‘संघीय शासन व्यवस्था’को परिकल्पना राष्ट्रिय जनमुक्ति पार्टीले अवलम्बन गरेका शासकीय विधि हुन् । यसका अलावा मूलुकमा बसोबास गर्दै आएका सबै जातजातिहरुलाई सम्पूर्ण रुपमा अधिकार सम्पन्न गर्नका लागि नीति निर्माण तहदेखि राज्यको हरेक निकायमा ‘जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व’को विधि मूलुकले अवलम्बन गर्नै पर्दछ भन्ने अडान जनमुक्ति पार्टीले राख्दै आएको छ । बहुजातीय मूलुक तर राज्य व्यवस्थामा एकाध सीमित जात विशेषको एकाधिकार र हैकमलाई तोड्दै देश र जनताको अग्रगामी परिवर्तनका लागि जनमुक्ति पार्टीले उपरोक्त मुद्दाहरु अविछिन्न रुपमा उठाईरहेको हो । यसरी जाति, क्षेत्र, वर्ग, लिङ्ग सबैको समान अस्तित्व र अधिकार संवैधानिक रुपमा कायम गर्न गराउनका लागि राष्ट्रिय जनमुक्ति पार्टी इमान्दारिता पूर्वक विगत तीन दशकदेखि संगठित रुपमा शान्तिपूर्ण तरिकाले आन्दोलित र संघर्षशिल हुंदै आईरहेको छ । राष्ट्रिय जनमुक्ति पार्टीले मूलुक र जनतालाई समृद्ध बनाउनका लागि “बहुजातीय लोकतान्त्रिक समाजवाद” सम्म पुग्ने लक्ष्य लिएको छ ।
एकातिर ‘जनमुक्ति विचारधारा’ले सिञ्चित राष्ट्रिय जनमुक्ति पार्टी निरन्तर आन्दोलित रही आएको सन्दर्भममा मूलुकमा ‘जनमुक्ति विचारधारा’ ले मार्गदर्शन गरेका जस्तै विचारहरुका आडमा नयाँनयाँ राजनैतिक संगठनहरु खोलिने क्रम पनि तीव्र नै देखियो । त्यसमा कतिपय राजनैतिक दलहरु सत्ताधारी पनि भईसकेका छन् । तर कलान्तरमा ती दलहरुमा संकट थपिने र झन खिईदै जाने समस्या पनि दिनप्रतिदिन चुलिदो छ । ठूला कहलिएका दलहरुले समेत वर्तमान अवस्था सम्म आईपुग्दा ‘जनमुक्ति विचारधारा’लाई कुनै न कुनै रुपमा अत्मसात गर्दै गएको पनि महशुस गरिएको छ । वा ती दलहरुमा न्यायका पक्षधर नेता कार्यकर्ताहरुले समेत ‘जनमुक्ति विचारधारा’ अन्तर्गत नै कृयाशिल हुने जमर्को गरेको देखिएको छ जुन कुरा ठूला दलहरु र ती दलका नेताहरु, मृगमरिचिका चिन्तन, टपरटुईया प्रवृत्तिका लागि अपाच्य पनि भएको छ । तथापि त्यस्ता खालका प्रवत्ति र पक्ष पनि ‘जनमुक्ति विचारधारा’ बोल्न सम्म बाध्य भएका छन् । ‘जनमुक्ति विचारधारा’लाई शसक्त पार्न सामाजिक संगठनहरुको पनि प्रत्येक्ष÷अप्रत्येक्ष भूमिका जेलिन आएको छ ।
विघटित संविधान सभाबाट नयाँ संविधान निर्माण गर्ने क्रममा ‘जनमुक्ति विचारधारा’को प्रभाव संविधान सभामा प्रवल रुपमा देखिएको थियो । तर कतिपय सवालमा अधुरो रुपमा ‘जनमुक्ति विचारधारा’को प्रतिविम्ब विघटित संविधान सभामा देखिएको थियो । राष्ट्रिय जनमुक्ति पार्टीको अब्बल प्रतिनिधित्व सो संविधान सभामा नहुनुले पनि शायद यस्तो भएको हुन सक्छ । तथापि सानो आकारमा प्रतिनिधित्व गरेको अवस्था रहेता पनि राष्ट्रिय जनमुक्ति पार्टीले नयाँ संविधानमा देश र जनताको उज्जवल भविष्य सुनिश्चत् गर्नका लागि अहोरात्र कोशिस भने अवश्य गरेको हो र त्यस्तो कोशिस निरन्तर जारी राख्दै आएको छ ।
यसैक्रममा ‘जनमुक्ति विचारधारा’कै नक्कल गरेर केही दल बन्दै भत्कदै गरे । फेरि पनि नयाँ राजनैतिक शक्ति निर्माण गर्ने कुरा पनि उठीरहेका छन्, उठीरहने छन् पनि । हौवा पिटिएको त्यस्ता शक्ति निर्माणपछि मूलुकको विकास, परिवर्तन र सामाजिक न्यायका पक्षधर नेपाली जनताले त्यतातिर गोलबन्द हुने भनेर ठनासेको पनि पाईन्छ । त्यस्तो नयाँ शक्ति निर्माण गर्ने भनेर जुटीरहेका सरोकारवालाहरु पनि अहोरात्र नयाँ शक्ति निर्माणमा खटीरहेको समाचारहरु पनि आईरहेका छन् । तर पनि राष्ट्रिय जनमुक्ति पार्टीले पवित्र सोंचका साथ समग्र देशमा, अन्य देशमा पनि विविधतायुक्त परिवेश भएको अवस्थामा र परिवर्तनकामीहरु बीचमा आव्हान गरीरहेको के हो भने पूर्ण मुक्तिकामीहरुबाट मूलुक निर्माणको लागि नयाँ शक्तिको आवश्यक्ता महशुस गरिएको हो र सयौं वर्षदेखि अन्याय, अत्याचार, दमन र कुशासनको व्यथितिबाट उन्मुक्ति खोज्दै आएका उत्पीडितहरुलाई पनि राज्यसत्ताको मालिक बनाउदै मूलुकको बहुआयामिक सम्बृद्धि हुनु पर्ने जनचाहनालाई सम्बोधन गर्न खोजिएको हो भने त्यस्तो विचार र शक्ति निर्माणका लागि भनेर समय खर्चेर तरङ्गित भईरहनु कत्ति पनि आवश्यक छैन । विगत तीन दशकको राजनैतिक, सांगठनिक उतारचढाव सहितको इतिहास गुजारीसकेको जनमुक्ति पार्टी यहाँ विद्यमान छ र निरन्तर र अविचलित रुपमा कृयाशिल रहदै आएको कसैको नजरबाट छिपेको छैन । देशव्यापी सांगठनिक संरचना, मूलुकको आवश्यक्ता अनुसारको ‘जनमुक्ति विचारधारा’लाई नै अरु फलाउने फुलाउने तर्पm लागेर गोलबन्द हुनुमा नै सबैको भलाई छ । सिंगै देश र जनताको भलाई यही ‘जनमुक्ति विचारधारा’बाट नै सम्भव छ ।
राज्यमा कुनै पनि जातिले नहार्ने नीति कायम रहीरहने राज्यसत्ताको निर्माणका लागि जनमुक्ति पार्टीको हरदम पहलकद्मी हो । जित्नेले आफ्नो हिस्सा लिने त संसारकै रीति हो तर हार्नेले समेत आफ्नो हिस्सा पाउने भन्ने मानवीय आदर्श चिन्तन ‘जनमुक्ति विचारधारा’ हो । एकाधिकारवादी राज्यसत्ताबाट देश र जनता थिलो थिलो भईरहेको अवस्थामा नेपालमा उत्पीडित जाति, क्षेत्र, लिङ्ग र वर्ग समेतको उचित अधिकार स्थापना गर्ने भन्ने सवाल ‘जनमुक्ति विचारधारा’ हो । ‘जनमुक्ति विचारधारा’ले ‘मूलुकका सबै जातजातिलाई राज्यसत्ताको मालिक बनाऔं’ भन्ने पवित्र आव्हान समेत गरेको छ र त्यही मूल्य र मान्यतामा लामो समयदेखि अविचलित रुपमा कृयाशिल रही आएको छ । यसकारण जनमुक्ति विचारधाराको यही मान्यताबाट जति संघसंस्था खुले पनि राष्ट्रिय जनमुक्ति पार्टीलाई न त शत्रुताको आँखाबाट हेर्नु उचित छ न त राजनैतिक रुपमा छोइछिटो गर्नु नै न्यायका लागि आकाँक्षी र चिन्तित जनताका पक्षमा हुनेछ ।
वास्तवमा ‘जनमुक्ति विचारधारा’लाई इतरमा राखेर न्यायका कुनै पनि लडाई नेपालमा सान्दर्भिक हुन सक्तैनन् । नेपाल र नेपालीको सच्चा परिवर्तनका लागि आवश्यक अवयवका राजनैतिक, सामाजिक, आर्थिक सबै पक्ष र मर्म भनेको ‘जनमुक्ति विचारधारा’मै छ । नेपाल जस्ता आधारभूत विशिष्टताले युक्त संसारको कुनै पनि देशको स्थायी शान्ति र दीगो विकासको आधार ‘जनमुक्ति विचारधारा’ हुन सम्भव छ भन्ने समेत हाम्रो दावी रहेको छ । यस अर्थमा मूलुकको सवालमा सही र वस्तुगत तरिकाले चिन्तन मनन गरी अगाडि बढ्न, सबै नेपालीहरुलाई संवैधानिक रुपमा अधिकार सम्पन्न गर्दै देश र जनताको उज्जवल भविष्य निर्माण हुनुपर्ने आवश्यक्तालाई छिटो निष्कर्षमा पु¥याउने अभिलाषालाई साकार पार्न ‘जनमुक्ति विचारधारा’लाई आत्मसात गर्न दुईविधामा पर्नु समय र उर्जाको अनावश्यक खपत हो । जुन तथ्य (यस्ता द्विविधा) कलान्तरमा न्यायका पक्षधर आम नेपालीको लागि धोखा सिवाय अरु केही हुने छैन ।
(२०६९ सालतिर तयार गरी बहसमा ल्याईएको यस विचार हाल पनि उत्तिकै सान्दर्भिक भएकोले समसामयिक बनाई ब्लगमा प्रकाशित गरिएको हो)