समाजको आमूल परिवर्तनका लागि आज भन्दा बीस वर्ष अगाडि मोफसल (बुटवल, रुपन्देही) बाट प्रकाशित हुने "नयाँ राज्यसत्ता साप्ताहिक" पत्रिकासंग जोडिने अवसरसंगै मेरा अनन्य मित्र मेजन पुनसंग भेट्ने र संगै कलम चलाउने शौभाग्य प्राप्त भएको थियो । तत्कालिन अवस्थामा प्रस्तावित मेनोको मिडिया प्रा.लि.को परिकल्पनामा नयाँ राज्यसत्ता साप्ताहिक फरक, यथार्थपरक र सही राजनीतिक/सामाजिक विश्लेषणात्मक विचार सहित प्रकाशित भएको थियो । परिवर्तनकामी समकालिन युवाहरुको योगदान, सहकार्य र सकृय जुझारुपनको प्रतिफल थियो नयाँ राज्यसत्ता साप्ताहिक । आदरणीय व्यक्तित्वहरु केशव सूर्यवंशी, अशोक पुन, सुरेन्द्र थापा, स्व.देव ब.पाटा, यम ब.झेंडी, जेबी पुन, सूर्य कुमार सारु, हरिदेव थापा, गंगा खासु, बिके राना, ईन्द्र थापा, एकु दर्लामी, दुर्गा बुढाथोकी, हरि पुन आदि नयाँ राज्यसत्ता साप्ताहिक पत्रिका प्रकाशन, वितरण लगायतका व्यवस्थापन अभियानमा सम्झिने महानुभावहरु हुनुहुन्छ । अरु कैयन शुभचिन्तक महानुभाव ज्यूहरु, सहकर्मी मित्रहरु नयाँ राज्यसत्ता साप्ताहिक पत्रिकासंग जोडिनु भएको थियो । यस पत्रिकाको सहप्रकाशन "राज्यसत्ता द्वैमासिक" पनि थियो ।
प्रस्तावित मेनोको मिडिया प्रा.लि.ले प्रकाशनका विभिन्न आयामहरु आफ्नो खातामा राख्ने र समाजमा आवश्यक परिवर्तनका जिम्मेवारीहरु समेत पुरा गर्ने सोंच र उद्देश्य अनुसार पहिलो किताबी कोशेलीको रुपमा मित्र मेजन पुन (तत्कालिन राज्यसत्ता टीममा प्रबन्धक) र मेरो सहकार्यको रुपमा "भावना कविता संग्रह" प्रकाशन गर्ने पुनित कार्य सम्पन्न गरेको थियो वि.सं.२०५७ मा । कवि मेजन र असीमको "भावना" कविता संग्रहमा साहित्यिक व्यक्तित्व राजन मुकारुङ्गले "लागेका कुरा ...." शिर्षकमा भूमिका लेखी दिनु भएको थियो । प्रस्तावित मेनोको मिडिया प्रा.लि.का अध्यक्ष अशोक पुनले प्रकाशकीय भनाई, प्रकाशनमा सहयोग गर्ने राजु पुनले प्रकाशकको भनाई व्यक्त गर्नु भएको छ । मित्र मेजन पुनको २५ र मेरो १७ गरी कूल ४२ ओटा कविताहरुको संकलनको रुपमा हामी दुईको "भावना कविता संग्रह" विमोचन कार्यक्रममा साहित्यिक/राजनीतिक विश्लेषकहरु क्रमशः दिल साहनी र गिरी थापा ज्यूले समालोचना गरीदिुन भएको थियो ।
हामी दुई "मेजन र असीम"को "भावना कविता संग्रह (संयुक्त प्रयास)" मा अटेको "भाले बास्यो उज्यालो भईसक्यो" भन्ने शिर्षकको कविता मेरो ब्लगको साहित्यिक कोठामा स्क्यानिङ्ग गरेर राखेको छु ।
वर्तमानको सन्दर्भमा पनि "भावना कविता संग्रह" भित्र अटाएका कविताहरुका भावहरु उत्तिकै सान्दर्भिकता महशुस हुन्छ । समय समयमा अरु कविताहरु पनि यस डिजिटल दुनियामा पस्कने जमर्को रहने नै छ । आम महानुभावज्यूहरु जसले यस ब्लगमा प्रवेश गर्नुहुनेछ यो समसामयिक कविता "भाले बास्यो उज्यालो भईसक्यो" मा एकपटक अवश्य नजर लगाउन र यसका भावना उपर सृजनात्मक टिप्पणी समेत गरीदिुनु हुनेछ भन्ने आशा र विश्वास गरेको छु । धन्यवाद । ☺☺☺✺❇✺



सधैं सधैं प्रेरणा प्रदान गर्ने कविता । यथार्थ भावना र व्यवहारसंग जाेडिएकाे विचार पनि । जागाै .....
ReplyDelete