Monday, May 31, 2021

कोभिड-१९; विश्वलाई झन् तोड्दैछ

  
अशोक स्वाइन
Symbolic Picture
    न् २०२० को सुरुवाती महिनामा कोभिड–१९ संकटले महामारीको रुप लिँदै थियो। त्यसैबेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले ‘विश्वव्यापी युद्धविराम’ को आग्रह गरे। कोरोना भाइरसविरुद्धको लडाइँमा सबैको ध्यान केन्द्रित गर्न विश्वभर शान्ति र मेलमिलाप हुनुपर्ने उनको ठहर थियो। त्यसैका आधारमा थुप्रै विश्लेषकहरुले विश्व पहिलेभन्दा शान्त, एकताबद्ध र जलवायुप्रति सचेत बन्ने अपेक्षा राखेका थिए।
    तर, मैले लेखेको थिएँ– यस्तो अपेक्षा गर्नु गलत हुन्छ। किनभने महामारीका कारण विश्व अझ गहिरो द्वन्द्व र हिंसामा डुब्नेछ। विश्व अझ बढी विभाजित हुनेछ र गम्भीर आर्थिक तथा वातावरणीय संकट आउन सक्छन्।
    म आशा गरिरहेको थिएँ– मेरा अनुमान गलत साबित भइदिऊन्। तर दुर्भाग्यवश, आज एक वर्षपछि हेर्दा विश्वको स्वास्थ्य मैले सन् २०२० को अप्रिलमा अनुमान गरेभन्दा खराब बनेको छ। पुराना द्वन्द्व समाधान भएका छैनन्, बरु ती झनै हिंसात्मक बनिरहेका छन्।

मौलाउँदैछ सर्वसत्तावाद
    नयाँ द्वन्द्व सिर्जना हुँदैछ। सर्वसत्तावादीहरु शक्तिशाली हुँदैछन्। लोकतन्त्र खुम्चिँदो छ। आर्थिक मन्दी चर्किंदैछ। बहुपक्षीय संरचनाहरु कमजोर मात्र होइन, शीतयुद्धकालीन अवस्थाबाट गुज्रिँदैछन्। यसले जलवायु परिवर्तनविरुद्धको लडाइँलाई कमजोर बनाएको छ।
    गएको वर्ष संसारका विभिन्न भागमा खतरनाक, विश्वलाई नै प्रभावित तुल्याउन सक्ने हिंसात्मक द्वन्द्व चर्केको हामीले देख्यौँ। दशकौँपछि पहिलो पटक चिनियाँ र भारतीय सैनिकबीच लाइन अफ एक्चुअल कन्ट्रोलमा हिंसात्मक झडप भयो। जसका कारण कयौँको ज्यान जानुका साथै दर्जनौँ घाइते भए।
    अर्मेनिया र अजरबैजानबीच पूर्ण रुपको लडाइँ भयो। रुसको मध्यस्थतामा भएको युद्धविराम अझै नाजुक छ। इथियोपिया र एरिटेराका सेनाले मिलेर टिग्रे क्षेत्रमा विपक्षीहरुको भीषण दमन गरे।
    इजरायल र हमासबीचको तनाव विस्फोट भयो र हवाई आक्रमण तथा रकेट प्रहारको रुप लियो। एघार दिन चलेको युद्धमा ७० बालबालिकासहित सयौँको ज्यान गयो। रुसले बल देखाउँदा युक्रेनको सुरक्षा स्थिति झनै नाजुक बनेको छ। जुनसुकै बेला तनाव बढ्ने सम्भावना छ।
    अर्कोतिर बाइडेन प्रशासनले ११ सेप्टेम्बर २०२१ बाट अफगानिस्तानमा रहेको अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेको छ। यसले तालिबानको हात माथि पर्न गएको छ। त्यसैकारण उसले आक्रमण बढाएको छ। आमनागरिकमा गृहयुद्ध चर्किने भय व्याप्त छ।
    यमनमा जारी युद्धका कारण सो मुलुकले झेलिरहेको गम्भीर मानवीय संकट झनै भयंकर बनिरहेको छ। माली र दक्षिण सुडानमा पहिलेझैँ द्वन्द्व जारी छ। फलस्वरुप मृत्यु, कष्ट र विस्थापन बढिरहेको छ।
    म्यानमारमा निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सेनाले सत्ता कब्जा गरेको छ। महिनौँदेखि सडक प्रदर्शन जारी छ। मुलुकका विभिन्न क्षेत्रमा सशस्त्र समूहहरु फेरि सक्रिय भएका छन्।
    कोलम्बियामा पनि सुरक्षा स्थिति नाजुक हुँदै गएको छ। सरकारविरुद्ध विशाल जनप्रदर्शन भइरहेका छन्। सरकारले हिंसात्मक दमन गरिरहेको छ। भेनेजुएलाको राजनीतिक संकट निरन्तर छ। जसका कारण अभूतपूर्व आर्थिक र मानवीय संकट उत्पन्न भएको छ।
    यी उदाहरणबाट हामी के देख्छौँ भने कोभिड महामारीले पनि नेताहरुलाई हिंसा र युद्धको बाटो छाडेर शान्ति र सहकार्यमा लाग्न प्रेरित गर्न सकेको छैन। महामारीले विश्वभरको अर्थतन्त्र ध्वस्त पारेको छ। तर, मुलुकहरुले किन्ने हतियारको परिमाण अलिकति पनि घटेको छैन। बरु बढेको छ।

महामारीले विश्वव्यापी मान्यता र सर्वहितलाई अघि बढाउन सकेन। बरु, विश्व पहिलेभन्दा बढी विभाजित बनेको छ। जातीय–राष्ट्रवाद शक्तिशाली बन्दै गएको छ। सार्वजनिक बहस पपुलिस्ट नेताहरुको कब्जामा गएको छ। सर्वसत्तावाद बलियो हुँदैछ।’

    सन् २०२० मा विश्वको कुल गार्हस्थ उत्पादन ४.३ प्रतिशतले घटेको छ। तर, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको अध्ययनअनुसार विश्वको सैन्य खर्च अघिल्लो वर्षको तुलनामा २.६ प्रतिशतले बढेको छ। अझ चिन्ताजनक के छ भने गएको वर्ष सबैभन्दा बढी सैन्य खर्च गर्ने पाँच मुलुक, अमेरिका, चीन, भारत, रुस र बेलायत नै महामारीबाट पनि सबैभन्दा बढी प्रभावित मुलुकमा पर्छन्।

कमजोर बन्दैछन् बहुपक्षीय संस्था
    महामारीको विश्वव्यापी प्रकृतिलाई हेर्दा बहुपक्षीयतावाद ब्युँतिने अपेक्षा थियो। तर, त्यस्तो पनि भएन। भिटो शक्ति भएका संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका स्थायी सदस्यहरु पहिलेझैँ अहिले पनि विभाजित छन्। बरु परिषदका बहसहरु फेरि शीतयुद्धकालमा जस्तै दुश्मनीपूर्ण बनेका छन्।
    टिग्रे, म्यानमार र प्यालेस्टाइनजस्ता स्थानमा गम्भीर मानवीय संकट आउँदा पनि सुरक्षा परिषदका स्थायी सदस्यहरु एक ठाउँमा उभिन सकेनन्। यसले बहुपक्षीय संस्थाहरु झनै कमजोर हुँदै गएको देखाउँछ। प्रभावकारी बहुपक्षीय संस्था नहुँदा विश्वले भोगिरहेको आर्थिक र वातावरणीय संकटको सामना गर्न मुलुकहरुलाई अझ बढी कठिन हुनेछ।
    सन् २०२० मा विश्वभरको आर्थिक गतिविधिलाई महामारीले गम्भीर असर गरेको छ। जसका कारण व्यापक बेरोजगारी सिर्जना हुनुका साथै १३ करोडभन्दा बढी मानिस गरिबीमा धकेलिएका छन्।
    सन् २०२१ मा विश्व अर्थतन्त्रमा सुधार हुने आशा गरिएको छ। तर, त्यो अनिश्चित छ। किनभने अझै विश्वको थुप्रै क्षेत्रमा महामारी फैलिइरहेकै छ।
    लकडाउनका कारण २०२० मा कार्बन उत्सर्जनमा नाटकीय गिरावट आएको थियो। तर, त्यो अस्थायी थियो। अहिले लकडाउनपछि हरेकजसो मुलुकमा उही दरमा कार्बजन उत्सर्जन भइरहेको छ। अझ छिटो आर्थिक गतिविधिलाई यथास्थानमा फर्काउने प्रयास गर्दा जलवायुसम्बन्धी मुद्दा किनारामा धकेलिएको छ। हरित लगानी गर्न मुलुकहरुलाई कठिन भएको छ।
    अमेरिका र चीनबीचको दुरी निरन्तर बढ्दो छ। जसले जलवायु परिवर्तनविरुद्ध साझा रणनीति तयार हुने आशा कमजोर बन्दै गएको छ।
    अर्थतन्त्र र वातावरणका विषयमा सहकार्यको कुरै छाडौँ, महामारीविरुद्ध समेत सहकार्यमूलक तरिकाले लड्न विश्व नराम्ररी असफल भयो। एकअर्कालाई आरोप लगाउने खेल चलिरहेकै छ। सबैले ‘खोप राष्ट्रवाद’ अँगालेका छन्।
    त्यसैले स्पष्ट छ– जतिसुकै गम्भीर असर गरे पनि कोभिड–१९ महामारीले विश्वलाई थप समावेशी र सहकार्यमूलक बनाउन सकेन।
    महामारीले विश्वव्यापी मान्यता र सर्वहितलाई अघि बढाउन सकेन। बरु, विश्व पहिलेभन्दा बढी विभाजित बनेको छ। जातीय–राष्ट्रवाद शक्तिशाली बन्दै गएको छ। सार्वजनिक बहस पपुलिस्ट नेताहरुको कब्जामा गएको छ। सर्वसत्तावाद बलियो हुँदैछ।
    विश्वले गतवर्ष अकल्पनीय मानवीय र अभूतपूर्व आर्थिक क्षति बेहोर्‍यो। यससँगै विश्व झनै विभाजित, झनै संकीर्ण, झनै द्वन्द्वरत र झनै भ्रान्तिपूर्ण बनेको छ।

(गल्फन्युजबाट। अशोक स्वाइन स्वीडेनको उप्साला युनिभर्सिटीको पिस एन्ड कन्फ्लिक्ट रिसर्चका प्राध्यापक हुन्) 
जेठ १५, २०७८, शनिबार

Friday, May 21, 2021

यस्तो हवीगत र "हुतीहारा चाला" देख्न जनताले सुविधाजनक बहुमत अवश्य दिएका थिएनन्

मिति २०७८ जेठ ६ गते "संघीय लाेकतान्त्रिक गणतान्त्रिक नेपाल - Federal Democratic Republic Nepal" काे इतिहासमा ज्यादै महत्वपूर्ण दिनकाे रूपमा रहनेछ । कारण :-

फाइल फोटो  by : - आरमीट अस्लामी (राष्ट्रिय जनमुक्ति पार्टी र जनमुक्ति युवा महासंघ चिलियामा आयोजित कार्यक्रममा सम्बोधन गर्दाको फोटो)

क) झण्डै दुई तिहाई (अत्यन्त सुविधाजनक) बहुमतका साथ प्रधानमन्त्री बनेर पनि "बिस नभएको सर्प"ले जस्तै फाेणा उठाउदै धक्कु मात्र लगाउदै आएका सम्माननीय प्रम खडग प्रसाद ओलीले नराम्ररी झटका खाएका छन् ।
ख) एकातिर आफ्नो "खेताला प्यादा" हरूकाे जागिर (७ मन्त्री पद) सर्वोच्चले खाेसीदियाे भने आफ्नो बहुमत मतदाता भएपनि अली "भरेस लाग्दाे ..." लाई राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजयकाे पगरी भिर्नु पर्ने दुर्दशा आईलाग्याे ।
ग) मन लाग्दाे गर्न पाउने भाग्यमानी प्रम ज्यूलाई यी यथार्थ घट्नाले निश्चय नै थप रनाहा पारेको छ । अर्थात, यी नाैटङ्कीकाे कथाक्रममा खलपात्रकाे मुख्य भूमिकामा सजाईएका र मूलुकमा मनमर्जी गर्न पाउने भाग्यमानी प्रम ज्यू लाई यी परिदृश्यहरू कण्ठस्थ थियो ।
घ) नानाथरी आहान जानेका र "आफू भलाे जगतै भलाे" काे आहानमा रमेका तर पछिल्लो पटक विश्वासको मत संसदबाट नलिईकन थप उच्छृङ्खलताकाे चेष्टा सम्माननीय प्रम ज्यूबाट प्रकट भएको छ ।
ङ) प्रमकाे पक्षमा बहुमत नहुने र अर्को प्रकृया अगाडि बढाउन सुटुक्क कुरा लगा (?) काे भरमा राष्ट्रपतिज्यूबाट २४ घण्टा भन्दा नि कम समय राखेर संवैधानिक आधार विना नै "नयाँ सरकार निर्माण"काे लागि उर्दी जारी भएको छ । देशमा एउटा प्रधानमन्त्री बर्करार रहदारहदै अर्को प्रधानमन्त्रीका लागि आव्हान हुने/गरिने व्यवस्था नेपालकाे संविधानले कल्पना नगरेकाे तर राष्ट्रपतिज्यूकाे "भुईंफट्टा तरिका" चाहिँ अवश्य हाे ।
च) राष्ट्रपति विद्यादेवी भण्डारी ज्यू र प्रम खड्ग प्रसाद ओली ज्यूको चालामाला "वल्लाे-पल्लो घर छिमेकमा गरिने सामाजिक आदानप्रदान" जसरी चल्दै आएकाे पराकाष्ठा तर्फ बढ्दैछ ।
छ) जेठ ६ गते प्रम-राष्ट्रपतिबाट गरिएको हर्कतले देशमा थप गन्जगोल र नयाँ परिदृश्य खडा गर्दैछ । "निकृष्ट मनाेग्रन्थीले थला परेका एकाध"काे स्वार्थ पूर्तिका खातिर "जनताको बलमा प्राप्त उपलब्धी"लाई बली चढाउने सम्भावना थप ठाेस बनाउदै लगिदैछ ।
ज) राजनीतिमा "निष्ठा" सबै रद्दीकाे टाेकरीमा डम्पिङ गरियो र फाेहरकाे डङ्गुरमा मिल्काएकाे जनताले टुलुटुलु हेर्नु पर्ने निरीहता बलियो बनाउने दुस्प्रयास बढ्दाे छ । "मुतकाे न्यानाे" मा रमाउनेहरूकाे जमात "निहित स्वार्थ"काे "च्याखे दाउ"मा ब्वाँसाे जसरी ङ्यार्र गरीरहेका छन् ।
झ) जेठ ७ गते बिहान जागा भई ताजा समाचार सुन्न रूचाउने समाचारप्रेमी सबै नेपालीलाई "काेराेना कहरकाे थप क्रन्दन र पीडा"को समाचारका अलावा कति आशा संगालेर विश्वास गरी आफूले मत दिएकाहरूकाे "राजनीतिक रत्याैली" काे लामाे निबन्ध फरकफरक शिर्षकमा सुन्ने अर्को साैभाग्य मिल्नेछ ।
ञ) यस्तो हवीगत र "हुतीहारा चाला" देख्न जनताले बहुमत अवश्य दिएका थिएनन् । ५ वर्ष सम्म सजिलै सरकार चलाउन पाउने जनमत "बाँदरको हातमा नरिवल" भने जस्तै भएकाे छ ।
ट) तर पनि दलकाे विकल्प दल नै हाे । सबै दल जनविश्वासकाे कसीमा भएको मनाेविज्ञान बढाेत्तरी भईरहदा दलभन्दा माथि साेच्न र कार्य गर्न सक्ने राष्ट्रिय चिन्तनले युक्त बृहत्तर राजनेतृत्वकाे सपना र आवश्यकता पूरा गर्न लालायितहरू - "निर्माणवादीहरूकाे बृहत्तर माेर्चा" निर्माण हुन सक्नु देशको दूरगामी आवश्यक्ता हाे ।
*** राष्ट्रप्रेमी, देशभक्त, परिवर्तनका पक्षधर, युगलाई धान्न / डाेरयाउन सक्ने / विशुद्ध हिम्मत गर्ने र देश बनाउने भावनाले ओतप्रोत भएका सबै नेपालीहरूले देशमा व्याप्त/कायम व्यथिति, विसंगति, अन्याय, अत्याचार, भ्रष्टाचार, गैरजिम्मेवारीपना जस्ता कुप्रवृत्ति र कुसंस्कारका विरूद्ध नयाँ ढङ्गले साेचाै र एकजुट बनाैं - भविष्यका पुस्तालाई सभ्य, सम्वृद्ध र शान्त नेपाल हस्तान्तरण हेतु हातेमालो गरेर अगाडि जाने तर्फ सबैकाे एकमत बन्दै जादा के देशलाई अहिले जस्तो थप धाेखा हुन्छ र ?? के हामी नयाँ पुस्ता, युवा पुस्ता भनाउँदाहरूले प्राप्त चेतनाको कसीमा आफूलाई राख्दै समग्र समाजको हितको खातिर जीवनलाई सार्थक बनाउन असक्षम हाैं र ??? नि:स्वार्थ बहस पनि गराैं ।

Thursday, May 13, 2021

नेपाली राजनीतिमा खोजिएको प्रवृत्ति प्राप्त गर्न नयाँ ढङ्गले सोचौ

    
        विरामीलाई आवश्यक अक्सिजन अभावका बारेमा गम्भीर चिन्ता र चासो कायम राख्दै यसको राष्ट्रिय व्यवस्थापनको जिम्मेवारी वहन गर्ने सरकार सम्बन्धमा पनि बोल्नु पर्ने अवस्था छ । २०७८ बैशाख २७ गते नेपालको राजनीतिमा केपी ओली नेतृत्वको नेकपाको दुई तिहाई बहुमतको सरकार अल्पमतमा परयो । यो स्थिति सृजना हुँदा सम्म धेरै परिघटनाहरु देशले देख्यो, बेहोरयो । सामाजिक संजालमा राखिएका मेरा केही दृष्टिकोणहरुलाई एककठठा गरी यहाँ पुनः प्रस्तुत गरेको छु ।
   

Thursday, February 18, 2021

शक्तिशाली नागरिक सधैँ निरीह भएर बस्‍ने ?

 - नेताहरूले देश बर्बादै पारे ।

- नेताहरूले देश लुटे । 
- नेताहरू भ्रष्ट भए । 
- नेताहरू लोभी-पापी भए । 
- राजनीति फोहोरी खेल मात्र भयो । 
- नेपाल कहिल्यै बन्दैन । 

चिया पसलदेखि मदिरा पसलसम्म, रिक्सापार्कदेखि रत्‍नपार्कसम्म, पैदल यात्रादेखि पठाओ-यात्रासम्म, ट्‍वीटरदेखि टिकटकसम्म, फेसबुकदेखि फैसलालयसम्म, अछामदेखि अमेरिकासम्म, आँखा खुल्दादेखि आँखा चिम्लिँदासम्म, घरदेखि घाटसम्मका हर भेटघाटसम्म, नेपाली जहाँ छन्, सुनिने कुरा यस्तै हो- देश त बर्बादै भयो । अनि थप सुनिने कुरा हो- देश बर्बाद गराउने नेता हुन्, राजनीति हो ।

राजनीति मूल नीति हो । यसले धेरै पक्ष निर्देश गर्छ । यो सत्य हो । यसमा कुनै द्विविधा छैन । तर, अलिकति गहिराइसम्म पुगेर प्रश्न गर्दा भन्‍न सकिन्‍छ- राजनीति बिग्रियो, नेता बिग्रियो भन्‍नु कारण हो कि परिणाम ? शरीरमा होस् या देशमा, आउने हर खराबीका केही निश्चित कारण हुन्‍छन् ।

बिरामी भइयो, बिरामी भइयो भनेर रोइकराई गर्नु गलत पनि होइन । तर, समाजका केही गन्यमान्य बौद्धिकहरूसमेत देश बिरामी पर्नुका मूल कारण, मूल जरोसम्म नपुगी भड्किनु हाम्रो नागरिक चेतनाको प्रतिविम्ब हो । केवल रोगका लक्षणको बयान गर्नु, परिणामको प्रदर्शन गर्नु अज्ञानता वा अस्पष्टता वा पक्षधरता के हो, उहाँहरू नै जान्‍नुहोला । तर, स्वतन्त्र प्राज्ञदेखि ‘सचेत नागरिक’सम्मका सबैले राजनीति सधैँ खराब भइरहनुको कारण के होला भन्‍नेतिर घोत्लिनु जरुरी छ । मूल जरोसम्म पुगेर पहिचान गरिएका समस्या सुनाउने, बोल्ने, लेख्‍ने गरे आम सर्वसाधारणलाई पनि त्यसले विचार निर्माण गर्न मद्दत पुग्छ । आज केही प्रश्न नागरिकलाई, स्वयंलाई गरौँ ।

लोकतन्त्रमा नागरिक शक्तिमान हुन्‍छ । प्रत्येक नागरिकले आफ्नो शक्ति बुझ्न जरुरी छ । हाम्रो विवेक नै राजनीतिमा प्रतिविम्बित हुने हो । हामी नै लोभी र स्वार्थी भइदिँदा नेता पनि त्यस्तै चुनिन्‍छ, अनि हामीलाई ज्वरो आउँछ । खराब भनेर चिन्दाचिन्दै हामी मत दिन्‍छौँ कि दिँदैनौँ ? खराब कसरी चिन्‍ने त ? साथी चिन्‍ने आपत्मा हो भनेझैँ खराब-असल शासक चिन्‍ने एउटा उपाय कुर्सी पुगेपछि उसले कस्तो काम गर्यो ? आफूले गरेका वाचा भुल्यो कि भुलेन ? अवसर पाउँदा पनि उसले खराब मात्रै गर्यो र फेरि हामी उसैको पछि लाग्छौँ, उसैलाई अगुवा बनाउँछौँ भने त हामीलाई ज्वरो आउने निश्चित छ । सडेगलेको फोहोर खाएपछि बिरामी परियो भनेर रोइकराई गर्नुको कुनै अर्थ छ ?

नेता निर्वाचित भइसकेपछि हामीले उसलाई खराब काम गर्न प्रेरित पो गर्छौँ कि ? मेरो मान्‍छेलाई जागिर लगाइदेऊ भन्‍छौँ कि परीक्षा निष्पक्ष गर भनेर दबाब दिन्‍छौँ ? स्कुलमा राजनीति नगर भन्‍छौँ कि भन्दैनौँ ? भ्युटावर बनाउनुभन्दा पुस्तकालय खोलौँ-राम्ररी चलाऔँ भन्‍छौँ कि भन्दैनौँ ? बजेट कनिका छर्नुभन्दा यसपालि कुनै भरपर्दो आयोजनामा केन्द्रित गरौँ भन्‍छौँ कि भन्दैनौँ ? नेताले राम्रो आयोजनामा केन्द्रित गर्न खोज्दा मेरो गाउँ, मेरो ठाउँ, मेरो टोलमा खै भनेर कनिका छर्नतिर मात्र लाग्छौँ कि ? अनि हर-हिसाब माग्छौँ कि माग्दैनौँ ? माग्दैनौँ भने त बर्बादीका दोषी हामी नै हौँ ।

 

हर-हिसाब माग्छौँ कि माग्दैनौँ ? माग्दैनौँ भने त बर्बादीका दोषी हामी सर्वशक्तिमान नागरिक नै हौँ ।

स्कुलमा, कलेजमा दलीय भागबन्डा नगरौँ भन्‍छौँ कि दललाई स्वागत गर्छौँ ? बलात्कारीलाई कारबाही गर्न दबाब दिन्‍छौँ कि चुप बस्छौँ कि बलात्कारीकै पक्ष लिन्‍छौँ ? पानीका मूल सुक्ने गरी, पुरिने गरी डोजर चलाउँछौँ कि चलाउँदैनौँ ? सबैभन्दा कमजोर वर्गलाई सजिलो हुने गरी नीति-कार्यक्रम ल्याउन भन्‍छौँ कि भन्दैनौँ ? सानोभन्दा सानो समस्यामा उपचार गर्न गाउँ-जिल्ला-देशबाहिर जानुपर्ने अवस्थामा राम्रो स्वास्थ्यसेवा चाहियो भन्‍छौँ कि भन्दैनौँ ?

विधिमा नटेकी काम गर्ने शासक-प्रशासकहरूलाई फेरि फेरि पाइलै टेक्न लाज लाग्ने गरी प्रश्न गर्छौँ कि गर्दैनौँ ? आफूले आस्था राख्ने दल, त्यसको नेताले जतिसुकै खराब गरे पनि राम्रो देख्छौँ कि ? तलबभत्ता खाने तर काम समयमा नगर्नेहरूलाई तिमीहरूलाई पालेको हामीले हो, हामीलाई नै नटेर्ने भनेर घेराबन्दी गरेर प्रश्न गर्छौँ कि गर्दैनौँ ? खुला ठाउँ मासेर सडकमा रमिता देखाउने भूमाफिया शासकलाई प्रश्न गर्छौँ कि गर्दैनौँ ? निर्वाचितभन्दा मनोनितलाई च्याप्नु निर्वाचित गराउने हामी नागरिककै अपमान हो, हामी बुझ्छौँ कि बुझ्दैनौँ ?

नागरिकको कर खाने व्यक्ति र संस्था सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ भनेर मिडिया प्रायः सत्ताको आलोचक हुनुपर्छ र हुन्‍छ । पत्रकारका प्रश्नको जवाफ नदिने तर पत्रकारलाई दलाल भन्‍ने नेताको भाषणमा ताली पिट्छौँ कि जवाफ देऊ भन्‍छौँ ? राज्यका सबै अंग आफैँ मात्र चलाउन खोज्ने तानाशाहलाई लोकतन्त्रमा शक्ति केन्द्रीकृत होइन, पृथकीकृत हुनुपर्छ भन्‍छौँ कि भन्दैनौँ ? तपाईं हाम्रो करबाट तलब खाने कोही जागिरे कुनै दल विशेषको सदस्य छ, दलको, गुटको चाकडी गर्छ भने मैले तिमीलाई किन पाल्ने भन्‍छौँ कि भन्दैनौँ ?

काम गरीखान पनि नदिने, सधैँ बन्द, हड्ताल गर्ने दललाई चुनावमा पराजित गरेर बन्दै गरिदिने चेतावनी दिन्‍छौँ कि दिँदैनौँ ? सत्तामा हुँदा सिन्को पनि नभाँच्ने, सत्ताबाहिर हुँदा चाहिँ ठूल्ठूला कुरा गर्ने नेताहरुलाई ऐना देखाउँछौँ कि देखाउन्‍नौँ ? ५०/६० वर्षदेखि राजनीतिलाई पेवा बनाएका, पटकपटक मन्त्री, प्रधानमन्त्री भएका स्खलित नेताहरुलाई बाईबाई भन्‍छौँ कि अझै हाईहाई गर्छौँ ?  आमनागरिक जसरी, सञ्चार माध्यम जसरी आलोचक हुनुपर्ने प्रतिपक्षी दल सत्ताको सारथि भएकामा प्रश्न गर्छौँ कि गर्दैनौँ ? भागबन्डा खोज्‍ने प्रतिपक्षलाई ‘भागबन्डाबाट भाग्’ भन्‍छौँ कि भन्दैनौँ ?

लोभी-स्वार्थी पार्टी/नेतालाई सधैँ सत्तामा चढाउने पनि हामी, अनि देश बर्बादै भयो भनेर रुवाबासी गर्ने पनि हामी । नेताहरुको शक्ति प्रदर्शनमा भक्ति होइन, प्रश्न प्रदर्शन गरौँ । नेताजीहरूबाट जवाफ नमाग्ने, उनीहरूबाट खालि आश्वासन र भाषण सुन्‍ने र यिनैमा ताली बजाउने नागरिक हुँदासम्म हाम्रो रोग निको हुँदैन । बुझ्नुपर्ने कुरा के हो भने, देशको रोगको उपचार हामी नागरिकसँगै छ । लोकतान्त्रिक व्यवस्थामा नागरिक जति शक्तिशाली कोही र केही छैन । अनि यति शक्तिशाली नागरिक सधैँ निरीह भएर बस्‍ने ? आफ्नो शक्ति चिनौँ, शोकबाट मुक्त होऔँ ।  Source : केही प्रश्‍न आज नागरिकलाई (ekagaj.com)

जनताको अपेक्षा र आवश्यक्ताहरु धाराशायी हुँदैछन्

     न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...